माघ ६, २०८२ |
काठमाडौँ, माघ ६, २०८२। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका देउवाले यसपटक चुनाव नलड्ने निर्णय गरेका हुन्।
पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले देउवालाई निर्वाचनमा उम्मेदवार नबन्न आग्रह गरेका थिए। सुरुमा अन्तिम पटक निर्वाचन लड्ने बताएका देउवाले सोमबार राति उम्मेदवारी नदिने निर्णय लिएको उनका सहयोगी भानु देउवाले जानकारी दिए।
देउवाको निर्णयसँगै कांग्रेसभित्र अन्य शीर्ष नेताहरूको उम्मेदवारी पनि अझै अनिश्चित रहेको छ। वरिष्ठ नेता पूर्णबहादुर खड्का, शेखर कोइरालालगायतका नेताहरूले उम्मेदवारी दिने वा नदिने विषयमा स्पष्ट धारणा सार्वजनिक गरिसकेका छैनन्। यसअघि उपसभापति विश्वप्रकाश शर्माले भने निर्वाचन नलड्ने घोषणा गरिसकेका छन्।
निर्वाचन नजिकिँदै जाँदा कांग्रेस आन्तरिक विवादमा फसेको देखिन्छ। देउवा र कोइराला पक्षका केही नेताहरू सभापति गगन थापासँग टिकट लिएर आ–आफ्नो जिल्लातर्फ फर्किएको बताइएको छ। सभापति गगन थापाविरुद्ध देउवा र खड्का समूहले अदालतमा दायर गरेको रिटका कारण पार्टीभित्रको तनाव थप बढेको छ।
नेतृत्व पुस्तान्तरणको संकेतसँगै कांग्रेस आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्छ कि आन्तरिक विवादले असर पार्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ।







