आज श्रीपञ्चमी: सरस्वती पूजासँगै वसन्तको स्वागत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ९ माघ
आज विद्याकी देवी सरस्वतीको आराधना गर्दै देशभर श्रीपञ्चमी मनाइँदै छ। वसन्त पञ्चमीका नामले पनि चिनिने यस दिनलाई ज्ञान, कला, संगीत र सृजनशीलताको उत्सवका रूपमा लिने गरिन्छ।

बिहानैदेखि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका सरस्वती मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ। ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाट, मैतिदेवी र स्वयंभूका मन्दिरहरू भक्तजनले भरिएका छन्।

आजै हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपति सहभागी हुने वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिहरूको पनि सहभागिता रहने चलन छ।

श्रीपञ्चमीलाई सरस्वती जयन्तीका रूपमा समेत मनाइन्छ। वैदिककालदेखि नै यस दिन सरस्वतीलाई विद्याकी देवी मानी पूजा–आराधना गर्ने परम्परा चलिआएको छ। आजको दिन बालबालिकाको शिक्षारम्भ, अक्षरारम्भ, नाक–कान छेड्ने संस्कार गर्ने परम्परा पनि रहेको छ।

विद्यालय तथा शैक्षिक संस्थाहरूले विशेष सरस्वती पूजा कार्यक्रम आयोजना गरेका छन्। साथै, संगीत, चित्रकला र अन्य सिर्जनात्मक क्षेत्रमा लाग्नेहरूले आजकै दिनबाट नयाँ अभ्यास सुरु गर्नु शुभ मानिन्छ।

पुस्तक, कलम, वाद्ययन्त्र र कलाका सामग्रीलाई ज्ञानको प्रतीक मानी सरस्वतीको स्वरूपमा पूजा गर्ने परम्पराले श्रीपञ्चमीलाई शैक्षिक र सांस्कृतिक दृष्टिले अझ महत्वपूर्ण बनाएको छ।

ज्ञानको उज्यालो फैलियोस्, सबैमा विवेक र सृजनशीलता बढोस् — यही कामना!

Leave a Comment