विश्वस्तरको सफलता पछि एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासमा सम्मान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

लन्डन, माघ १५
विश्व कराँते रंगमञ्चमा लगातार ऐतिहासिक उपलब्धि हासिल गरिरहेकी नेपाली कराँते खेलाडी एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ। बेलायत भ्रमणमा रहेकी एरिकालाई बुधबार दूतावासमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा कार्यवाहक राजदूतले एरिकाको अन्तर्राष्ट्रिय सफलताले नेपालको प्रतिष्ठा उचो राखेको उल्लेख गर्दै भविष्यका प्रतिस्पर्धामा थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे। एरिकाको उपलब्धिमा प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङको योगदान पनि उल्लेख गरिएको थियो।

इस्तानबुलमा रजत, विश्व वरियतामा फड्को

एरिका हालै टर्कीको इस्तानबुलमा सम्पन्न कराँते वान प्रिमियर लिग (६८ केजी तौल समूह) मा रजत पदक जित्दै इतिहास रचेकी हुन्। उक्त उपलब्धिपछि उनी वर्ल्ड कराँते फेडेरेसन (WKF) को वरियतामा महिला ६८ केजीमाथि तौल समूहमा १३औं स्थानमा पुगेकी छिन्।

यसअघि मोरक्कोको राबतमा आयोजित प्रिमियर लिगमा कांस्य जितेकी एरिकाले यसपटक आफ्नो प्रदर्शन सुधार गर्दै रजत हात पारेकी हुन्। उनले विश्वकै शीर्ष वरियताका खेलाडीहरूलाई पराजित गर्दै आफूलाई स्थापित गरिरहेकी छिन्।

‘देश नछोड्ने’ प्रतिबद्धता

दूतावासको सम्मानपछि एरिकाले आफूलाई गरिएको आतिथ्यप्रति धन्यवाद दिँदै भविष्यमा विश्व नम्बर–१ बन्ने लक्ष्यका साथ अघि बढिरहेको बताइन्। नेपाली खेलाडी विदेश पलायन भइरहेको सन्दर्भमा आफू भने सधैं देशकै प्रतिनिधित्व गर्ने प्रतिबद्धता पनि जनाइन्।

तमुधिं यूकेको साथ

कार्यक्रममा तमुधिं यूकेका पदाधिकारीहरूको उपस्थिति थियो। संस्थाले एरिकालाई यसअघि नै ‘तमु प्रतिभा पुरस्कार–२०२४’ अन्तर्गत नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिसकेको छ। बेलायत बसाइका क्रममा एरिकाको आवास, तालिम र व्यवस्थापनको जिम्मा पनि तमुधिं यूकेले लिएको छ।

एरिका आउँदो ३० जनवरीदेखि फेब्रुअरी १ सम्म बेलायतमा हुने अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्पमा सहभागी हुने कार्यक्रम छ।

उपलब्धिको लामो सूची

एरिकाले विश्व सितोरियो कराँते च्याम्पियनसीपमा स्वर्ण, एसियन गेम्स र एसियन सिनियर कराँते च्याम्पियनसीपमा रजत, एसिया–प्यासिफिक सितोरियोमा स्वर्णसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय पदक जितिसकेकी छिन्। दक्षिण एसियाली, यूएसए ओपन, अस्ट्रेलियन ओपन, थाइल्यान्ड ओपनलगायत प्रतियोगितामा पनि उनले स्वर्ण पदक हात पारेकी छन्।

उनी विश्व च्याम्पियनसीपका लागि छनोट भइसकेकी छन् भने नेपालमा ‘वेस्ट प्लेयर अफ द इयर’ सम्मानसमेत प्राप्त गरिसकेकी खेलाडी हुन्।

Leave a Comment