फिफा विश्वकप–२०२६ मा फ्रान्सले विजयी सुरुआत गरेको छ। बुधबार न्युजर्सी स्टेडियममा सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे नायक बने। उनले दुई गोल गर्दै टोलीलाई जित दिलाउनुका साथै फ्रान्सेली फुटबल इतिहासमा नयाँ कीर्तिमानसमेत रचे। दुई गोलसँगै एम्बाप्पेको अन्तर्राष्ट्रिय गोल संख्या ५८ पुगेको छ, जसले उनलाई फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनाएको छ।
खेलको पहिलो हाफमा सेनेगलले फ्रान्सलाई कडा चुनौती दिएको थियो। निकोलस ज्याक्सनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने अर्को गोल अफसाइडका कारण मान्यता पाउन सकेन। इस्माइला सारले पनि गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। त्यसपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा भने फ्रान्सले खेलको नियन्त्रण आफ्नो पक्षमा पार्यो। ६६औँ मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि वैकल्पिक खेलाडी ब्राड्ली बारकोलाले दोस्रो गोल थप्दै फ्रान्सलाई बलियो अवस्थामा पुर्याए।
खेलको अन्तिम समयमा सेनेगलका इब्राहिम म्बायेले एक गोल फर्काए पनि त्यसले नतिजा बदल्न सकेन। बरु इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित ३–१ मा सुनिश्चित गरे।
यस जितसँगै फ्रान्सले सन् २००२ को विश्वकपमा सेनेगलसँग भोगेको हारको बदला समेत लिएको छ। साथै, विश्वकपमा एम्बाप्पेको व्यक्तिगत गोल संख्या १४ पुगेको छ। अब उनको लक्ष्य जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको विश्वकप इतिहासकै सर्वाधिक १६ गोलको कीर्तिमान तोड्ने रहनेछ।
ऐतिहासिक उपलब्धिसहित विश्वकप यात्रा सुरु गरेको फ्रान्सलाई यस संस्करणको उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ।
एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार सुरुआत
Leave a Comment
Leave a Comment






