टी–२० विश्वकपमा भारतको प्रभावशाली जित, पाकिस्तान ६१ रनले पराजित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ४ फागुन — आइतबार सम्पन्न आईसीसी टी–२० विश्वकप अन्तर्गतको रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ। १ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमै १ सय १४ रनमा समेटियो।

पाकिस्तानका लागि उसमान खानले सर्वाधिक ४४ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। सादाब खानले १४ र साहिन अफ्रिदीले २३ रन जोडे पनि टोलीलाई जिततर्फ लैजान पर्याप्त भएन। भारतका बलर हार्दिक पाण्ड्या, जसप्रित बुमराह, अक्षर पटेल र वरुण चक्रवर्तीले समान दुई–दुई विकेट लिएर विपक्षी ब्याटिङ ध्वस्त पारे।

यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि भारतले ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो। ओपनर अभिषेक वर्मा शून्यमै आउट भए पनि इसान किशनले ४० बलमा ७७ रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई प्रतिस्पर्धी स्कोरमा पुर्‍याए। उनले १० चौका र ३ छक्का प्रहार गरेका थिए। तिलक वर्मा (२५), कप्तान सूर्यकुमार यादव (३२) र शिवम दुबे (२७) ले पनि उपयोगी योगदान दिए।

पाकिस्तानी बलर साइम अयुबले २५ रन खर्चेर तीन विकेट लिएर प्रभाव देखाए।

यो जितसँगै भारतले समूह चरणमा ६ अंक जोड्दै सुपर–८ मा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। समान समूहमा अमेरिका दोस्रो स्थानमा छ भने पाकिस्तान तेस्रोमा झरेको छ। अर्को खेलमा नामिबियाले २ सय रनको लक्ष्य पछ्याउँदा १ सय ६८ रनमै रोकिएपछि अमेरिका विजयी भएको थियो।

Leave a Comment