काठमाडौं, २१ माघ — नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीमा संरचनागत र वैचारिक परिवर्तन आएको दाबी गर्दै अब कांग्रेस सत्ताका लागि जोसँग पनि नमिल्ने स्पष्ट पारेका छन्।
बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले विगतका कमजोरीहरूको समीक्षा गर्दै पार्टीलाई रूपान्तरण गरिएको बताए। “यो सजिलो थिएन, तर गर्नैपर्ने काम थियो। हामी कांग्रेसलाई बदल्न सफल भएका छौं,” उनले भने।
थापाका अनुसार परिवर्तन केवल अनुहारमा सीमित नभई सोच, कार्यशैली र प्राथमिकतामा देखिएको छ। “यो पुरानो कांग्रेस होइन, नयाँ सोचसहितको बदलिएको कांग्रेस हो,” उनले प्रस्ट्याए।
उनले राष्ट्रिय हितभन्दा माथि पार्टीको स्वार्थ नराखिने र सिद्धान्तसँग सम्झौता गर्नुपरे सत्ता त्याग्न पनि तयार रहने बताए। “सत्तामा पुग्न वा टिकिरहन जे पनि गर्ने र जोसँग पनि मिल्ने अभ्यास अब हुँदैन,” थापाको भनाइ थियो। आवश्यक परे सरकारबाहिर बस्न पनि पार्टी तयार रहने उनले संकेत गरे।
थापाले कांग्रेसलाई पुनः संस्थापकहरूले परिकल्पना गरेको सामाजिक आन्दोलनको मार्गमा फर्काउने लक्ष्य व्यक्त गरे। “पार्टी केवल चुनाव लड्ने मेसिन होइन, सामाजिक परिवर्तनको माध्यम हो,” उनले भने।
बदलिएको कांग्रेसको अर्थ पुराना नेतासँग सम्बन्ध विच्छेद नभएको पनि उनले स्पष्ट पारे। “हिजोका सबै नेता खराब थिए भन्ने होइन, तर अब हामी नयाँ दृष्टिकोणका साथ अघि बढ्छौं,” उनले बताए।
उनले लोकतन्त्र, सामाजिक न्याय र विविधतालाई कांग्रेसको आधारस्तम्भ भन्दै ती मूल्यहरूलाई अझ सुदृढ बनाइने बताए। साथै, जेन–जी पुस्ताका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै युवालाई विश्वासमा लिएर अघि बढ्ने उल्लेख गरे।
“तपाईंहरूको विश्वासले बदलिएको कांग्रेसले देश बदल्नेछ,” थापाले सन्देशमा भनेका छन्। उनले पार्टीको ‘रुख’ चुनाव चिह्नमा मतदान गरी परिवर्तनको अभियानमा साथ दिन नागरिकलाई आह्वान गरेका छन्।






