काठमाडौं, २६ माघ २०८२ (सोमबार)
राष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक २०८१ औपचारिक रूपमा फिर्ता भएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकले सरकारको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गर्दै विधेयक फिर्ता गर्ने निर्णय गरेको हो।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि सभाले कुनै विरोधबिना उक्त प्रस्ताव पारित गरेको हो।
यसअघि माघ २३ गते बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हाले सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव पेश गरेका थिए। विभिन्न सरोकारवाला र राजनीतिक तहबाट आएका सुझाव तथा आलोचनालाई ध्यानमा राख्दै सरकार उक्त निर्णयमा पुगेको बताइएको छ।
सोही बैठकले पर्यटन विधेयक २०८१ लाई भने पारित गरेको छ। बैठकको प्रारम्भमा भने कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्यहरूले आफ्नो छ वर्षे कार्यकालका अनुभव र उपलब्धि प्रस्तुत गरेका थिए।
यसका साथै, राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पनि बैठकले पारित गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक माघ २८ गतेका लागि तोकिएको छ।

