सिरहा कारागारमा विशेष सर्चपछि तनाव, १२ कैदी अन्य कारागार स्थानान्तरण जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक, सुरक्षा व्यवस्था थप कडा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

सिरहा, २७ माघ २०८२
सिरहा कारागारमा गरिएको विशेष सर्च अपरेसनपछि उत्पन्न तनाव नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । कारागार प्रमुखको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा अवस्था, कैदीको विरोध प्रदर्शन र नियन्त्रणका उपायबारे छलफल भइरहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनका अनुसार गोप्य सूचनाका आधारमा सोमबार बिहान गरिएको सर्च अपरेसनका क्रममा कारागारभित्र अवैध गतिविधि भइरहेको प्रमाण फेला परेको थियो । कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट कटुवा पेस्तोल, दुई राउन्ड गोली र एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो ।

यस घटनापछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो । तीमध्ये एक जना कैदीको कैद अवधि सोही दिन सकिएकाले रिहा गरिएको छ भने बाँकी १२ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ । सात जनालाई नुवाकोट कारागार, तीन जनालाई काठमाडौं केन्द्रीय कारागार र दुई जनालाई रौतहट कारागार पठाइएको हो ।

नाइके यादवलाई हटाइएको विरोधमा कैदीहरूले कारागारको छतमाथि बसेर दिनभर र रातभर नाराबाजी गरेका थिए । थाली बजाउँदै ‘इन्द्रजित दाइ चाहियो’ लगायतका नारा लगाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले सोमबार राति पानीको फोहरा प्रयोग गरेको थियो, जस क्रममा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबरजस्ती असुली भइरहेको सूचनाका आधारमा अपरेसन चलाइएको जानकारी दिए । अनुगमनका क्रममा हतियार, नगद तथा चुरोट–सुर्तीजस्ता प्रतिबन्धित सामग्री फेला परेको प्रशासनको दाबी छ ।

हाल कारागारभित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । १५० जना कैदी राख्ने क्षमता भएको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको प्रशासनले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

Leave a Comment