काठमाडौँ, २८ माघ २०८२ (बुधबार) — आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आयोगका अनुसार फागुन ३ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त अभियान देशभरका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा एकसाथ लागू गरिनेछ। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइनेछ।
स्वयंसेवकहरूले घरदैलो तथा बस्तीस्तरमै पुगेर नमुना मतपत्र प्रयोग गरी मतदान गर्ने तरिका, मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानी तथा निर्वाचनको महत्वबारे जानकारी दिनेछन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता शिक्षा कार्यक्रमले मतदान प्रक्रियालाई सरल बनाउन र बदर मतको संख्या घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
आयोगले यसअघि नै हरेक स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई कार्यक्रमको अनुगमनकर्ताको जिम्मेवारी दिएको जनाएको छ।
यस अभियान सफल बनाउन सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमलगायत सरोकारवालासँग सहकार्यको अपिल गरिएको छ।
आयोगका अनुसार मताधिकारको महत्वबारे सचेतना अभिवृद्धि गर्दै मतदाताको सहभागिता बढाउने मुख्य उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

