विश्वकपमा पहिलो जितको खोजीमा नेपाल, आज इटलीसँग निर्णायक भिडन्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मुम्बई, २९ माघ २०८२ — आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्दैछ। खेल मुम्बईको वाङ्खेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ।

दुवै टोली पहिलो खेलमा पराजित भएकाले आजको खेल उनीहरूका लागि अत्यन्त महत्वपूर्ण बनेको छ। नेपाल इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार बेहोरेको थियो। त्यसैले दुवै टोली पहिलो जित दर्ता गर्दै प्रतियोगितामा फर्किने प्रयासमा रहनेछन्।

नेपाल र इटलीबीच १३ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१३ मा आईसीसी डिभिजन–३ अन्तर्गत ५० ओभरको खेलमा यी दुई टोली आमनेसामने भएका थिए। तर टी–२० अन्तर्राष्ट्रियमा भने यो पहिलो भेट हुनेछ।

विश्वकप इतिहासमा नेपालले सन् २०१४ मा अफगानिस्तानलाई हराएपछि जित निकाल्न सकेको छैन। त्यसैले आजको खेल नेपालका लागि जितको खडेरी तोड्ने अवसरका रूपमा हेरिएको छ।

समूह ‘सी’ को अंकतालिकामा वेस्ट इन्डिज दुई खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ। इंग्ल्यान्ड र स्कटल्यान्डले समान २–२ अंक जोडेका छन्। नेपाल र इटली अंकविहीन रहेकाले आजको नतिजाले समूहको समीकरणमा महत्त्वपूर्ण असर पार्नेछ।

वाङ्खेडे मैदान सामान्यतया ब्याटिङका लागि अनुकूल मानिन्छ। दुवै टोलीले सन्तुलित प्रदर्शन गर्न सके मात्र समूह चरणमा आशा जीवित राख्न सक्नेछन्।

Leave a Comment