काठमाडौं, २९ माघ २०८२ — सन् २०२४ को जनआन्दोलनपछि पूर्वप्रधानमन्त्री शेख हसिना भारत पलायन भएको घटनापछि बंगलादेशमा आज पहिलोपटक आम निर्वाचन भइरहेको छ। देशभर बिहानैदेखि मतदान सुरु भएको छ र स्थानीय समयअनुसार अपराह्न ४:३० बजेसम्म मतदान जारी रहने जनाइएको छ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार १२ करोड ७७ लाखभन्दा बढी मतदाता नयाँ सरकार चयनका लागि मतदानमा सहभागी भइरहेका छन्। ३५० सदस्यीय संसद्मा प्रत्यक्षतर्फ ३०० सांसद चयन गर्न मतदान भइरहेको हो।
आन्दोलन, पतन र अन्तरिम सरकार
सरकारी कर्मचारीका सन्तानलाई आरक्षण दिने नीतिविरुद्ध विद्यार्थी आन्दोलन चर्किएपछि २०२४ अगस्ट ५ मा शेख हसिना हेलिकप्टरमार्फत भारत गएकी थिइन्। आन्दोलनका क्रममा करिब १४ सय जनाको ज्यान गएको थियो। हाल उनी भारतमै अज्ञात स्थानमा रहेको बताइन्छ।
हसिनाको बहिर्गमनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। त्यही सरकारले अहिलेको निर्वाचन गराएको हो। लामो समयदेखि सत्तामा रहेको हसिनाको अवामी लिग पार्टीलाई यस चुनावमा प्रतिबन्ध लगाइएको छ।
मुख्य प्रतिस्पर्धा बीएनपी र जमातबीच
चुनावमा मुख्य प्रतिस्पर्धा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) र जमात-ए-इस्लामीबीच देखिएको छ। बीएनपीको नेतृत्व तारिक रहमानले गरिरहेका छन्, जो पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन्। १७ वर्ष बेलायतमा निर्वासित जीवन बिताएका रहमान हालै मात्र स्वदेश फर्किएका हुन्।
बीएनपी राष्ट्रवादी धारमा आधारित पार्टी हो, जसको स्थापना बंगलादेश स्वतन्त्रताका प्रमुख सैन्य कमान्डरमध्ये एक जियाउर रहमानले गरेका थिए। जियाउरको हत्या भएपछि खालिदा जिया पार्टी प्रमुख बनेकी थिइन् र दुई कार्यकाल प्रधानमन्त्रीसमेत भएकी थिइन्।
पहिलोपटक विदेशबाट पनि मतदान
यस निर्वाचनमा पहिलोपटक विदेशमा रहेका बंगलादेशी नागरिकलाई हुलाकमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। साथै, आन्दोलनकारी विद्यार्थीहरूसँग अन्तरिम सरकारले गरेको सहमतिअनुसार आजै संविधान संशोधन र नयाँ कानुन निर्माणजस्ता विषयमा जनमतसंग्रह पनि भइरहेको छ।
हसिनाको पतनपछि बदलिएको राजनीतिक परिवेशमा भइरहेको यो निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासोपूर्वक हेरिरहेको छ। परिणामले बंगलादेशको भावी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

