३ फागुन, काठमाडौं । एमाले अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचनको वातावरण अझै पूर्ण रूपमा तयार भइसकेको जस्तो नदेखिएको बताएका छन्। तर चुनाव घोषणा भएमा आफ्नो पार्टी सहभागी हुने उनको स्पष्ट धारणा छ।
आइतबार झापास्थित मा सञ्चारकर्मीसँग कुराकानी गर्दै का अध्यक्ष ओलीले चुनाव हुने अपेक्षा त रहे पनि तयारी र वातावरणबारे सरकार नै बढी जानकार हुने बताए।
“चुनाव हुन्छ भन्ने लाग्छ, तर वातावरण बनेको जस्तो हामीले देखेका छैनौं,” उनले भने, “वातावरणबारे सरकारलाई नै धेरै जानकारी हुन्छ।”
ओलीले चुनाव भएमा एमाले पूर्ण रूपमा प्रतिस्पर्धामा उत्रिने र आफू पनि अभियानका क्रममा सकेसम्म देशभर पुग्ने योजना रहेको बताए। उनले निर्वाचनको मिति र तयारीबारे स्पष्टता आउन बाँकी रहेको संकेतसमेत गरे।
देशमा चुनावको चर्चा बढिरहँदा प्रमुख दलका नेताहरूले वातावरण, तयारी र राजनीतिक सहमतिको अवस्था मूल्याङ्कन गरिरहेका छन्। एमाले अध्यक्ष ओलीको भनाइले निर्वाचनप्रति पार्टीको सहभागिता सुनिश्चित भए पनि तयारीको अवस्थाबारे अझै अनिश्चितता रहेको सन्देश दिएको छ।

