४ फागुन २०८२, काठमाडौं-मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक सोमबार साँझ पुनः पक्राउ परेका छन्।
प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले निर्वाचन आयोगको पत्राचारका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
यसअघि पनि निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा माघ २३ गते दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट पक्राउ परेका प्रसाईं दुई दिन हिरासतमा बसेपछि माघ २५ मा हाजिरी जमानीमा रिहा भएका थिए। वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनलाई त्यसबेला नियन्त्रणमा लिइएको थियो।
निर्वाचन अवधिमा आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा आयोगले प्रहरीलाई कारबाहीका लागि पत्राचार गरेपछि प्रसाईंमाथि पटक–पटक कारबाही प्रक्रिया अघि बढ्दै आएको छ। प्रहरीले हालको पक्राउ पनि सोही प्रकरणसँग सम्बन्धित रहेको जनाएको छ।
प्रसाईं पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममार्फत सक्रिय रहँदै आएका छन्। प्रहरीले उनीमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।

