निर्वाचन आयोगको प्रतियोगिता—१ मिनेटको मौलिक टिकटकमार्फत निर्वाचन सचेतना फैलाउन आह्वान
काठमाडौं, फागुन ८ — प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै मतदाता शिक्षा प्रवर्द्धनका लागि टिकटक भिडियो प्रतियोगिता सञ्चालन गरिने भएको छ। युवामाझ लोकप्रिय सामाजिक सञ्जाललाई प्रयोग गरी निर्वाचनसम्बन्धी जानकारी, सचेतना र सकारात्मक माहोल निर्माण गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको हो।
का अनुसार सहभागीले निर्वाचन आचारसंहिता, मतदाताको अधिकार-कर्तव्य, सही मतदान विधि, निर्वाचनको महत्व लगायत विषयमा आधारित अधिकतम एक मिनेटको मौलिक टिकटक भिडियो तयार गरी सार्वजनिक गर्नुपर्नेछ। तयार भिडियो फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्नेछ।
प्रतियोगितामा सबैभन्दा बढी भ्युज प्राप्त गर्ने भिडियोले पहिलो पुरस्कारस्वरूप ५० हजार रुपैयाँ पाउनेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट भिडियोहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ।
आयोगले भिडियो संवादमूलक, सन्देशमूलक र आफ्नै मौलिक अडियो-अभिनय भएको हुनुपर्ने स्पष्ट गरेको छ। एक व्यक्तिले एक विषयमा एक भिडियो पठाउन सक्नेछ भने समूहमा पनि भिडियो निर्माण गर्न सकिनेछ। प्राप्त सामग्रीमा आयोगको अधिकार रहने र आवश्यक परे आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गरिने जनाइएको छ।
आयोगले टिकटकजस्ता डिजिटल माध्यममार्फत युवालाई निर्वाचन प्रक्रियामा जोड्दै लोकतान्त्रिक सहभागिता बढाउने लक्ष्य राखेको जनाएको छ।

