फेटा गाउँपालिका अध्यक्ष अन्सारीमाथि आक्रमण प्रयास, सुरक्षा निकायले उद्धार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

दुई समुदायबीचको झडपपछि छलफल गर्न पुगेका स्थानीयसँग विवाद चर्किँदा घटना

बारा, फागुन ८ — बाराको फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि स्थानीयको समूहले हातपातको प्रयास गरेपछि सुरक्षाकर्मीले उनलाई उद्धार गरेका छन्।

शुक्रबार बिहान फेटा–३ स्थित बजार क्षेत्रमा रहेको अध्यक्ष अन्सारीको घरमा पुगेका स्थानीयवासीले घेराउ गर्दै आक्रोश व्यक्त गरेका थिए। स्थिति तनावपूर्ण बन्दै जाँदा उनीमाथि हातपातसमेत भएको बताइएको छ।

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले तत्काल हस्तक्षेप गरी अध्यक्ष अन्सारीलाई सुरक्षित स्थानमा लगेको स्थानीय स्रोतले जनाएको छ।

गाउँमा अघिल्लो रात जन्ती आएका क्रममा दुई समुदायका युवाबीच झडप भएको थियो। सो घटनाबारे छलफल गर्न पुगेका स्थानीयसँग अध्यक्ष अन्सारीले समाधानमा आफ्नो प्रत्यक्ष भूमिका नरहने बताएका थिए। यही विषयमा विवाद चर्किँदा स्थिति नियन्त्रणबाहिर पुगेको बताइएको छ।

घटनापछि क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती बढाइएको छ भने अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाइएको छ।

 

Leave a Comment