काठमाडौं, ९ वैशाख — अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण सम्पन्न गरेर वासिङ्टन डीसी फर्किएका छन्। उनको भ्रमण राजनीतिक, आर्थिक प्राथमिकता तथा नेपाल–अमेरिका सम्बन्ध सुदृढ बनाउने उद्देश्यमा केन्द्रित थियो।
काठमाडौं बसाइका क्रममा कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। साथै उनले सूचना प्रविधि (आईटी) क्षेत्रका व्यवसायीसँग अन्तरक्रिया गर्दै लगानी र सहकार्यका सम्भावनाबारे छलफल गरे।
यद्यपि, यसपटक उनको भ्रमणमा प्रधानमन्त्री बालेन शाहसँग भने भेटवार्ता हुन सकेन, जुन विगतका उच्चस्तरीय भ्रमणभन्दा फरक देखिएको छ।
कपुरले ‘सेलेक्ट–युएस’ लगानी सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसँग पनि छलफल गरेका थिए। अर्थमन्त्री वाग्लेसँग उनले व्यापार र लगानी विस्तारका विषयमा विस्तृत कुराकानी गरेका थिए।
अमेरिकी दूतावासका अनुसार कपुरको भ्रमण फलदायी रह्यो। दूतावासले नेपालका उदीयमान प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावना खोज्न उनले निजी क्षेत्रबीच सहकार्यको वातावरण बनाएको जनाएको छ।
भ्रमणका क्रममा कपुरले बौद्धनाथ स्तूप र पाटन दरबार क्षेत्र पनि अवलोकन गरेका थिए। यी सम्पदाको संरक्षणमा अमेरिकाले सहयोग गर्दै आएको छ।
स्मरणीय छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुकलाई पदमुक्त गर्दै कपुरलाई नियुक्त गरेका थिए। नयाँ दिल्लीमा जन्मिएका कपुर दक्षिण एशियाली मामिलामा अनुभवी अधिकारी मानिन्छन्।
बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि नेपाल आएका कपुर सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपाल भ्रमण सकेर फर्किए, प्रधानमन्त्री बालेन शाहसँग भेट भएन
Leave a Comment
Leave a Comment

