काठमाडौं, १२ चैत — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ। शपथ ग्रहण कार्यक्रम अपराह्न २ बजेका लागि तय गरिएको छ र आवश्यक सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनेछन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नै पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।
शपथ कार्यक्रम सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ। सचिवालयका अनुसार केही सांसदहरूले नेपालीबाहेक अन्य भाषामा पनि शपथ लिने तयारी गरेका छन्। कुल ४७ जनाले फरक भाषामा शपथ लिँदा १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।
संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा ५ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार सांसदहरूले शपथ लिनुपर्ने व्यवस्था रहेको छ।
सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइज फोटोसहित निर्धारित समयभन्दा दुई घण्टा अगाडि उपस्थित हुन आग्रह गरेको छ। साथै औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन पनि भनिएको छ।
कार्यक्रमका लागि बहुउद्देश्यीय हलमा सिट व्यवस्थापन, रोष्टम, सभामुखको आसन लगायत सबै आवश्यक तयारी पूरा गरिएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेकपा (माओवादी केन्द्र)ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।

