सर्लाही–४ मा कडा प्रतिस्पर्धा : ‘बाहिरी’ गगनको चुनौती, ‘स्थानीय’ अमरेशको भरोसा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

मलङ्गवा (सर्लाही), ९ फागुन २०८२ — मधेशको चर्चित निर्वाचन क्षेत्र सर्लाही–४ यतिबेला राष्ट्रिय ध्यानको केन्द्र बनेको छ। राजधानीको निर्वाचन क्षेत्र छाडेर यहाँ उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगन थापा र लगातार जित्दै आएका पूर्वसांसद अमरेश सिह  बीचको प्रतिस्पर्धाले चुनावी माहोल तातेको हो।

गगन थापा गाउँबस्तीमा पुगेर मधेशका समस्या एक वर्षभित्रै सुधार्ने प्रतिबद्धता दोहोर्‍याइरहेका छन्। स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनी मधेशको विकासको जिम्मा लिएको दाबी गर्छन्। भाषिक असहजता स्वीकार्दै पनि उनले “काम गरेर देखाउने” सन्देशमार्फत विश्वास जित्ने प्रयास गरिरहेका छन्।

यता अमरेशकुमार सिंह भने आफूलाई ‘स्थानीय प्रतिनिधि’का रूपमा प्रस्तुत गर्दै मत मागिरहेका छन्। दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनले घरदैलोमा स्थानीय भाषामै संवाद गर्छन्। उनको प्रचारमा ‘घन्टी’ र ‘बालेन लहर’का नारा प्रमुख रूपमा प्रयोग भइरहेका छन्।

बहुकोणीय प्रतिस्पर्धा

सर्लाही–४ मा मुख्य प्रतिस्पर्धा गगन–अमरेशबीच देखिए पनि जसपा नेपालका रामेश्वर राय यादव र एमालेका युवा उम्मेदवार अमनिशकुमार यादव पनि सक्रिय छन्। रामेश्वर रायले मधेशीले मधेशकै प्रतिनिधित्व गर्नुपर्छ भन्ने मुद्दा उठाइरहेका छन् भने अमनिशले ‘जेन–जी नेतृत्व’को नारासहित युवा मतदाता तान्ने रणनीति अपनाएका छन्।

प्रचार शैली फरक

गगन थापा सीमित घरपरिवार भेला गराएर समस्या सुन्ने र छोटो सम्बोधन गर्ने शैलीमा छन्। देशव्यापी जिम्मेवारीका कारण उनी छोटो समयमै सबै बस्ती पुग्ने योजना बनाएका छन्।
अमरेश भने क्षेत्रमै केन्द्रित रहेर निरन्तर घरदैलोमा छन्। स्थानीय भाषा, व्यक्तिगत सम्बन्ध र पुरानो नेटवर्कका आधारमा मतदातासँग जोडिन खोजिरहेका छन्।

सुरक्षा संवेदनशील क्षेत्र

सीमा क्षेत्रसँग जोडिएको सर्लाही–४ विगतदेखि नै सुरक्षा दृष्टिले संवेदनशील मानिन्छ। चुनावी दबाब, बाहुबल र सीमापार प्रभावको जोखिमका कारण सुरक्षा निकायको विशेष निगरानी छ। उम्मेदवारहरूको घरदैलोमा प्रहरी र सशस्त्र टोली साथमै देखिन्छ।

अघिल्लो परिणाम र गणित

अघिल्लो चुनावमा अमरेशकुमार सिंह करिब २० हजार मतसहित विजयी भएका थिए भने कांग्रेसका उम्मेदवार झन्डै १८ हजार मतमा सीमित भएका थिए। स्वतन्त्र उम्मेदवार मधुमाला यादवले १४ हजारभन्दा बढी मत ल्याएकी थिइन्। समानुपातिकतर्फ भने कांग्रेस अग्रस्थानमा थियो।

करिब १ लाख २१ हजार मतदाता रहेको यस क्षेत्रमा किसान बहुल जनसंख्या छ। उखु, तरकारी र अन्नबाली मुख्य आयस्रोत हुन्।

कसको दाउ बलियो ?

गगनलाई मधेशमा आफूलाई प्रमाणित गर्ने चुनौती छ भने अमरेशलाई दल परिवर्तनपछि पुरानो आधार जोगाउने दबाब। स्थानीय बनाम बाहिरी, पुरानो बनाम नयाँ र राष्ट्रिय बनाम क्षेत्रीय नेतृत्वको बहसले सर्लाही–४ को चुनावलाई रोचक बनाएको छ।

मतदान नजिकिँदै जाँदा यो क्षेत्रको परिणामले राष्ट्रिय राजनीति र मधेशको प्रतिनिधित्व दुवैमा प्रभाव पार्ने आकलन गरिएको छ।

Leave a Comment