काठमाडौं, २६ फागुन २०८२।
देशका प्रमुख शहरहरूमा पछिल्लो समय वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गर्दै प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर र तराईका विभिन्न क्षेत्रमा हावामा सूक्ष्म धुलोका कण अर्थात् पीएम २.५ को मात्रा निकै बढेको छ। यी कणहरू श्वासप्रश्वास र छालामार्फत शरीरभित्र प्रवेश गरी विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छन्।
उनका अनुसार वायु प्रदूषणका कारण आँखा पोल्ने, आँखा दुख्ने, छालामा समस्या हुनेजस्ता सामान्य असर देखिन सक्छन् भने दीर्घकालीन रूपमा मुटु, फोक्सो, मिर्गौला तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम पनि बढ्न सक्छ। अत्यधिक प्रदूषणले क्यान्सरसम्मको खतरा बढाउन सक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।
विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका तथा दीर्घरोगीहरू उच्च जोखिममा रहने भएकाले उनीहरूले अझ बढी सतर्कता अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ।
बिहान र बेलुका बाहिर ननिस्कन सुझाव
स्वास्थ्य मन्त्रालयले बिहान र बेलुकाको समयमा बाहिर ननिस्कन विशेष सुझाव दिएको छ। यी समयमा प्रदूषणका कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले स्वास्थ्यमा थप असर पर्ने सम्भावना रहने बताइएको छ। त्यसैले मर्निङ वाक वा इभिनिङ वाक नगर्न मन्त्रालयले आग्रह गरेको छ।
बाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, आँखालाई सुरक्षित राख्न चस्मा लगाउन तथा शरीर ढाकिने कपडा र टोपी प्रयोग गर्न पनि मन्त्रालयले सुझाव दिएको छ।
प्रदूषण नियन्त्रणका लागि समन्वय
मन्त्रालयले वायु प्रदूषण नियन्त्रणका लागि अन्य सम्बन्धित मन्त्रालयहरूसँग पनि समन्वय गरिरहेको जनाएको छ। उद्योग, भौतिक पूर्वाधार, कृषि, वन तथा वातावरण मन्त्रालयसँग प्रदूषण घटाउने उपायबारे छलफल भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।
सवारीसाधनबाट निस्कने धुवाँ, उद्योग–कलकारखाना, कृषिमा विषादीको प्रयोग, फोहोर तथा प्लास्टिक जलाउने कार्य र वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण समस्या पूर्ण रूपमा समाधान हुन नसक्ने मन्त्रालयको भनाइ छ।
तत्कालका लागि भने प्रदूषणको प्रत्यक्ष असरबाट बच्न व्यक्तिगत सतर्कता र स्वास्थ्य सुरक्षामा ध्यान दिनु नै उत्तम उपाय भएको मन्त्रालयले जनाएको छ।

