एमाले महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, पुस १ गते विद्युतीय मतदान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, मंसिर २७ — नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बन्दसत्र आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सम्पन्न भएसँगै पार्टी अब पूर्ण रूपमा निर्वाचन प्रक्रियामा प्रवेश गर्न लागेको हो।

बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अध्यक्ष मण्डल’ घोषणा गर्ने कार्यक्रम छ। यसपटक विगतको अभ्यासभन्दा फरक ढंगले केन्द्रीय सचिवालयलाई नै अध्यक्ष मण्डलको रूपमा जिम्मेवारी दिइएको छ। बन्दसत्र सञ्चालन, कार्यसूची निर्धारण र व्यवस्थापनको सम्पूर्ण जिम्मा सचिवालयले लिने उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।

मतदानको तयारी तीव्र

केन्द्रीय निर्वाचन आयोगले पुस १ गते विद्युतीय माध्यमबाट मतदान गर्ने तयारी गरेको छ। आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार आइतबारसम्म महाधिवेशन प्रतिनिधिको प्रमाणित नामावली र केन्द्रीय कमिटीको क्लस्टर प्राप्त भएमा सोमबार बिहानसम्म मतदाता नामावली सार्वजनिक गर्न सकिनेछ।

मतदाता नामावलीमा दाबी–विरोधपछि अन्तिम सूची प्रकाशन गरिनेछ। त्यसपछि विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम प्रविष्ट गरिनेछ, जसका लागि करिब १५ देखि २० घण्टा लाग्ने अनुमान गरिएको छ।

२५१ सदस्यीय केन्द्रीय कमिटी

विधान अनुसार एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ। यसमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव रहनेछन्। केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरिएको छ भने समावेशी प्रतिनिधित्वको वैधानिक व्यवस्था पनि लागू हुनेछ। युवाको प्रतिनिधित्वको विषय भने अन्तिम टुंगोमा पुग्न बाँकी छ।

पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको खुला समूहका उम्मेदवार हुने व्यवस्था छ। त्यस्ता उम्मेदवारलाई मतदाताले पदाधिकारी र सदस्य दुवैमा मतदान गर्न पाउनेछन्।

२ हजार २६२ प्रतिनिधि, ८० मेसिन प्रयोग

महाधिवेशनमा २ हजार २६२ प्रतिनिधि सहभागी छन्। आयोगसँग १०० वटा विद्युतीय भोटिङ मेसिन भए पनि एकपटकमा ८० वटा मात्र प्रयोग गरिनेछ। एक मतदाताले मतदान गर्न औसत २०–२५ मिनेट लाग्ने अनुमान गरिएको छ।

मतगणनामा भने धेरै समय नलाग्ने आयोगको दाबी छ। सबै प्रक्रिया योजना अनुसार अघि बढे पुस १ गते राति वा पुस २ गतेसम्म नतिजा सार्वजनिक हुने सम्भावना छ।

अध्यक्षमा प्रतिस्पर्धा तय

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली पुनः दोहोरिन चाहिरहेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि दाबी प्रस्तुत गर्ने तयारी गरेका छन्। सहमतिको सम्भावना न्यून देखिएपछि ओली र पोखरेलको नेतृत्वमा छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भई शपथ ग्रहण गरेसँगै पुरानो केन्द्रीय कमिटी स्वतः विघटन हुनेछ।

Leave a Comment