रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु, बिहान २ घण्टा खुकुलो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

आइतबार १० फागुन, २०८२-रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आज (आइतबार) पनि जारी राखिएको छ। अत्यावश्यक कामका लागि भने बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म दुई घण्टा खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार उक्त अवधिमा पनि सभा, जुलुस तथा भीडभाडजन्य गतिविधि गर्न भने पूर्ण प्रतिबन्ध रहनेछ। बिहान ८:३० बजेदेखि भने अर्को आदेश नभएसम्मका लागि कर्फ्यु पुनः कडाइका साथ लागू हुनेछ।

स्थानीय प्रशासनका अनुसार कर्फ्यु क्षेत्र गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको चार किल्लाभित्र तोकिएको छ। यस क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।

स्थानीय समुदायबीच विवाद उत्पन्न भएपछि शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। अवस्था नियन्त्रणमा आएको जनाइए पनि थप अप्रिय घटना हुन नदिन कर्फ्युलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ।

कर्फ्यु आदेश उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै प्रशासनले शान्ति–सुरक्षा कायम गर्न स्थानीय बासिन्दालाई सहयोग गर्न आग्रह गरेको छ।

यसअघि गौर नगरपालिका–६ सनगढा गाउँमा शुक्रबार मस्जिदमा प्रार्थना भइरहेका बेला हिन्दु समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। उक्त घटनापछि गौर क्षेत्र तनावग्रस्त बनेको हो।

Leave a Comment