निर्धारित समयमै चुनाव हुनैपर्छ : केपी शर्मा ओली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१० फागुन २०८२, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पनि हालतमा प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने बताएका छन्। राज्य र उम्मेदवार पक्षबाट ठूलो आर्थिक खर्च भइसकेकाले चुनाव रोक्ने कुरा अस्वीकार्य हुने उनको भनाइ छ।

ओलीले निर्वाचन स्थगित गराउने प्रयास अझै जारी रहेको दाबी गर्दै आफ्नो पार्टी भने अन्योलमा नपरी चुनाव जित्ने अभियानमा केन्द्रित भइसकेको बताए। “हामी स्पष्ट छौं, चुनाव हुनैपर्छ। हुन्छ वा हुँदैन भन्ने अलमलमा नपरी हामी विजयको तयारीमा लागेका छौं,” उनले भने।

अध्यक्ष ओलीले विगत छ महिनादेखि निर्वाचन सुनिश्चित गर्न प्रयास गर्दा अन्य राजनीतिक पक्षबाट चासो नदिएको आरोप लगाए। अन्तिम समयमा आएर चुनाव नहुने चर्चा उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ थियो।

उनले राज्यले अर्बौं रुपैयाँ खर्च गरिसकेको र उम्मेदवारहरूले पनि ठूलो लगानी गरिसकेको उल्लेख गर्दै अब चुनाव रोकिए त्यसको औचित्य नहुने बताए। “देशको खर्च भइसकेको छ, उम्मेदवारको खर्च भइसकेको छ। अब चुनाव हुँदैन भन्नु उचित होइन,” ओलीले भने।

ओलीले नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित टिप्पणी पनि गरे। कुनै ठोस आधार नभएको नयाँ दल अचानक अतिरञ्जित रूपमा उछालिएको र अहिले पराजयको संकेत देखेपछि वातावरण बिथोल्ने प्रयास भइरहेको उनले आरोप लगाए।

उनले केही समूहले चुनावी माहोल बिगार्ने, निहुँ खोज्ने, अपमानजनक गतिविधि गर्ने र झण्डा जलाउनेजस्ता काममा लागेको आरोप पनि लगाए। यस्तो गतिविधिले लोकतान्त्रिक प्रक्रियामा अवरोध पुर्‍याउने उनको भनाइ थियो।

ओलीका अनुसार एमाले अहिले चुनाव जित्ने स्पष्ट लक्ष्यका साथ संगठन, उम्मेदवार र जनसंपर्क अभियानलाई तीव्र बनाइरहेको छ। कुनै राजनीतिक अनिश्चिततामा नअल्झी निर्वाचनमै केन्द्रित रहन कार्यकर्तालाई निर्देशन दिइएको उनले बताए।

Leave a Comment