महासचिवलाई साथमा राखेर देउवासँग ओलीको राजनीतिक संवाद

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, पुस ७ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा पुनः निर्वाचित भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। सोमबार देउवा निवास महाराजगञ्ज पुगेका ओलीले यसपटक महासचिव शंकर पोखरेललाई पनि सँगै लिएर गएपछि भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अघिल्लो भेटमा पत्नी राधिका शाक्यसहित देउवासँग भेटेका ओली यसपटक भने पार्टी नेतृत्व तहकै प्रतिनिधित्व हुने गरी महासचिवलाई साथमा राखेर राजनीतिक सन्देश दिन खोजेको बुझाइ गरिएको छ।

मंसिर २७ देखि पुस २ सम्म सम्पन्न एमालेको एघारौँ महाधिवेशनबाट ओली अध्यक्ष र पोखरेल महासचिव निर्वाचित भएका हुन्। महाधिवेशनपछि कांग्रेस सभापति देउवासँग भएको यो उनीहरूको पहिलो औपचारिक राजनीतिक संवाद हो।

भेटवार्ताको मुख्य एजेन्डा संसद पुनर्स्थापनासँग सम्बन्धित विषय रहेको बताइएको छ। संसद पुनर्स्थापनाका लागि एमालेले सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ भने कांग्रेस–एमाले दुवै दलका सांसदहरूले हस्ताक्षर संकलन अभियान पनि अघि बढाइरहेका छन्।

ओली अध्यक्ष निर्वाचित भएपछि देउवालाई भेट्न महाराजगञ्ज पुगेको यो दोस्रो अवसर हो। यसअघि मंसिर १९ गते सिंगापुरबाट उपचार गरी स्वदेश फर्किएका देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ओली पत्नी राधिका शाक्यसहित देउवा निवास पुगेका थिए।

पछिल्लो भेटलाई दुई ठूला दलबीच बढ्दो संवाद र सम्भावित राजनीतिक सहकार्यतर्फको संकेतका रूपमा हेरिएको छ।

Leave a Comment