११ फागुन, काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी छ । दुर्घटनामा विदेशी पर्यटकहरू पनि परेका छन्, जसमा एक जना न्यूजिल्याण्डका नागरिक रहेका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
घटनास्थलबाट घाइते यात्रुहरूलाई डुंगाको सहायताले करिब एक किलोमिटर तलसम्म पुर्याएर त्यहाँबाट सडकमा उकालेर एम्बुलेन्समार्फत विभिन्न अस्पताल पठाइएको थियो ।
रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्रीको अभावका कारण उद्धारकार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन् । टर्चको सहायताले घाइतेहरूको उद्धार गरिएको उनले जानकारी दिएका छन् ।
उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली पनि उद्धारमा संलग्न भएको थियो ।

