२०८२ असोज २० गते, काठमाडौ
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको चर्चा फेरि चर्किएको छ । सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएपछि असन्तुष्ट पक्षले त्यसअघि नै हस्ताक्षरसहित विशेष महाधिवेशनको माग बुझाउने तयारी थालेका छन् ।
पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउने दुई तरिका छन् — पहिलो, केन्द्रीय समितिले आवश्यकता ठानेर स्वयम् बोलाउने; दोस्रो, कुल प्रतिनिधिमध्ये ४० प्रतिशतले कारणसहित लिखित माग गरेपछि महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान असोज ६ गतेदेखि सुरु भएको हो । यो अभियानमा नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरू सक्रिय छन् ।
आवश्यक हस्ताक्षर पुगेको दाबी
संस्थापनइतर नेताहरूका अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको छ । देउवा पक्षका केही नेताहरूले समेत समर्थन जनाएका दाबी गरिएको छ ।
गगन थापा निकट एक नेताले भने, “४० प्रतिशत हस्ताक्षर आवश्यक हुन्छ, तर अहिले सहजै ६०–६५ प्रतिशत पुर्याउन सकिन्छ।”
१४औं महाधिवेशनबाट निर्वाचित ४ हजार ७४३ प्रतिनिधिमध्ये कम्तीमा १ हजार ८९८ जनाको हस्ताक्षर पुगेपछि विशेष महाधिवेशन माग गर्न सकिन्छ । माग दर्ता भएपछि तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने प्रावधान पार्टी विधानमा उल्लेख छ ।
नेतृत्व परिवर्तनका छलफलहरू तीव्र
जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व पुनर्गठनको आवाज बलियो बनेको छ । यही सन्दर्भमा नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा आज भेट्ने तयारीमा छन् । उनीहरूबीच आसन्न केन्द्रीय समिति बैठक, हस्ताक्षर अभियान र पार्टी नेतृत्वका विकल्पबारे विस्तृत छलफल हुने बुझिएको छ ।



Leave a Reply