काठमाडौं, फागुन १२। आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर–एट’ चरणको खेलमा वेस्ट इन्डिजले जिम्बाबेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबे १७ ओभर ४ बलमा १४७ रनमा अलआउट भयो। जिम्बाबेका ब्राड इभान्सले सर्वाधिक ४३ रन बनाए। वेस्ट इन्डिजका गुडाकेश मोतीले ४ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रनको उच्च योगफल तयार गरेको थियो। उसका लागि शिम्रोन हेटमायरले उत्कृष्ट ८५ रन बनाए। जिम्बाबेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले समान २–२ विकेट लिए।
टी–२० विश्वकप इतिहासमा यो दोस्रो ठूलो टोली योगफल हो। यसअघि सन् २००७ मा श्रीलंकाले केन्यासँगको खेलमा २६० रन बनाएको कीर्तिमान कायम गरेको थियो।
यस जितसँगै वेस्ट इन्डिज ‘सुपर–एट’ को समूह १ मा शीर्ष स्थानमा पुगेको छ भने जिम्बाबे पुछारमा रहेको छ।
यस्तै सुपर–एट चरणअन्तर्गत अर्को खेलमा इंग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने तालिका छ। उक्त खेल श्रीलंकाको पल्लेकेलेमा बेलुका हुनेछ।

