१२ फागुन,काठमाडौं : अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका एक नेपालीले घरेलु विवादका क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन्। उदयपुर बेलका नगरपालिका घर भएका ५१ वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रहार गरी ३१ वर्षीया छोरी ममता थापा र श्रीमती बिन्दा थापाको ज्यान लिएका हुन्।
परिवार पर्सिमोन ड्राइभस्थित घरमा बस्दै आएको थियो। स्थानीय समयअनुसार बिहान करिब ५:१५ बजे घरभित्र झगडाको आवाज सुनेपछि ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेतले ९११ मा फोन गरेका थिए। भित्र पस्दा उनले श्रीमती र सासूलाई रगतले लतपत अवस्थामा भेटेका थिए।
त्यसक्रममा थापाले बस्नेतमाथि पनि आक्रमण गरी गम्भीर घाइते बनाएका थिए। घटनास्थलमा पुगेका प्रहरीले थापालाई आक्रमण गरिरहेकै अवस्थामा भेटेपछि हतियार छोड्न पटक–पटक चेतावनी दिएका थिए। नमानेपछि प्रहरीले गोली चलाउँदा थापाको घटनास्थलमै मृत्यु भएको हो।
घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल रहेका छन्। डीभीमार्फत अमेरिका गएकी छोरीले दशैंपछि आफ्ना बाबुआमालाई घुमाउन अमेरिका लगेकी थिइन्।

