नर्वेका पूर्वप्रधानमन्त्री जगल्यान्डले गरे आत्महत्या प्रयास

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन १३ — नर्वेका पूर्वप्रधानमन्त्री थोर्बजोर्न जगल्यान्डले आत्महत्या प्रयास गरेपछि उनलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटना गत साता भएको बताइएको छ।

मिडिया रिपोर्टका अनुसार नर्वेजियन सम्पादक संघले उनका कानुनी प्रतिनिधिसँग परामर्श गरी यो विषय सार्वजनिक नगर्न सहमति गरेको थियो। तर केही सञ्चारमाध्यमले उनको गम्भीर स्वास्थ्य अवस्थालाई उद्धृत गर्दै घटना सार्वजनिक गरेका हुन्।

जगल्यान्डको नाम यौन अपराधमा दोषी ठहर अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग सम्बन्धित प्रकरणसँग जोडिएको बताइएको छ। साथै उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप पनि लगाइएको छ, जसमा दोषी ठहर भए अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको जनाइएको छ।

उनका वकिल एल्डेन ल फर्मले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनसँग घटनाबारे पुष्टि गरेका छन्। तर उनले आफ्ना मुवक्किलमाथि लगाइएका आरोपहरू अस्वीकार गरेका छन्।

एपस्टिन प्रकरणका कारण विश्वका विभिन्न देशमा उच्च पदस्थ व्यक्तिहरू विवादमा तानिएका छन्। सोही काण्डसँग सम्बन्धित अनुसन्धान विभिन्न देशमा जारी रहेको जनाइएको छ।

Leave a Comment