काठमाडौं, चैत २२ – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा चट्याङ, असिना र हुरीसहित वर्षा हुने सम्भावना रहेको छ।
हाल बिहान कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली छ। गण्डकीका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। यस क्रममा पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षा हुने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ। साथै कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा पनि आज मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। उपत्यकाका केही स्थानमा हुरीबतास पनि चल्न सक्नेछ।
राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा कोसी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्र र गण्डकीका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै मधेस र कोसी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।






