काठमाडौँ, फागुन १६ — टी–२० विश्वकपमा पाकिस्तान आज श्रीलंकासँग निर्णायक प्रतिस्पर्धामा उत्रँदैछ। श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेलले पाकिस्तान सेमिफाइनलमा पुग्ने वा न्यूजिल्याण्डले अन्तिम चारमा स्थान बनाउने भन्ने टुंगो लगाउनेछ।
नेपाली समयअनुसार खेल साँझ ७ः१५ बजे सुरु हुनेछ। शुक्रबार भएको खेलमा इंगल्याण्डले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेपछि पाकिस्तानको सेमिफाइनल सम्भावना जीवितै रहेको हो।
अब पाकिस्तानले सेमिफाइनलमा पुग्न श्रीलंकाविरुद्ध कम्तीमा ६४ रनको फराकिलो जित निकाल्नुपर्नेछ। वैकल्पिक रूपमा पाकिस्तानले दिएको लक्ष्य १३.१ ओभरभित्र पूरा गरे पनि अन्तिम चारमा स्थान सुरक्षित हुनेछ।
श्रीलंका र पाकिस्तानबीच हालसम्म २९ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा पाकिस्तानले १७ र श्रीलंकाले १२ खेल जितेका छन्। दुवै टोलीबीच पछिल्लोपटक २०२६ मा दाम्बुलामा भएको भेटमा श्रीलंकाले १४ रनले जित निकालेको थियो।
जारी प्रतियोगितामा श्रीलंकाका पथुम निसान्का उत्कृष्ट लयमा छन्। उनले ६ खेलमा १५२.९४ को स्ट्राइक रेटमा २०८ रन बनाएका छन्, जसमा एक शतकसमेत समावेश छ। बलिङतर्फ महिश थीक्ष्णा टोलीका शीर्ष विकेटकर्ता हुन्। उनले ६ खेलमा ११ विकेट लिएका छन्।
पाकिस्तानका लागि साहिबजादा फरहान सर्वाधिक रन बनाउने ब्याटर हुन्। उनले ६ खेलमा १५८.१ को स्ट्राइक रेटमा २८३ रन जोडेका छन्, जसमा एक शतक रहेको छ। बलिङतर्फ उस्मान तारिकले ५ खेलमा १० विकेट लिँदै टोलीलाई मजबुत बनाएका छन्।






