१७ फागुन २०८२, आइतबार-काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब चार दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले सञ्चालन गर्दै आएको मतदाता शिक्षा कार्यक्रम आजबाट सकिने भएको छ। फागुन ३ गतेदेखि देशभर सञ्चालन गरिएको उक्त अभियान बदर मत घटाउने उद्देश्यसहित करिब २५ करोड रुपैयाँ खर्च गरेर सञ्चालन गरिएको आयोगले जनाएको छ।
निर्वाचन तालिकाअनुसार भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। त्यसपछि दलहरूले जुलुस, आमसभा तथा अन्य प्रचार कार्यक्रम गर्न नपाउनेछन्। आयोगका अनुसार निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने मतपत्र, मतपेटिका र अन्य सामग्री सबै जिल्लामा पुर्याइसकिएको छ।
पहाडी तथा हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारी सामग्री बुझेर कार्यक्षेत्रतर्फ प्रस्थान गरिसकेका छन्। तराई–मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको आयोगले जनाएको छ।
प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य छन्। समानुपातिकतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार चुनावी मैदानमा छन्। यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने आयोगको तथ्यांक छ।
यसैबीच निर्वाचन आयोगले मतदानका दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ। दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन निर्बाध सञ्चालन गर्न पाइनेछ।
त्यस्तै दूरसञ्चार, विद्युत्, खानेपानी, ढल मर्मतका सवारीसाधन तथा अस्पताल सेवासम्बन्धी सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने जनाइएको छ। हवाई यात्रु बोकेका सवारीसाधन र हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता तथा उनीहरूका सहयोगी बोकेका सवारीसाधन पनि निर्वाध सञ्चालन गर्न पाइने आयोगले स्पष्ट गरेको छ।

