काठमाडौं, २३ कात्तिक ।
प्रेस काउन्सिल नेपालले गत तीन महिनामा प्रेस स्वतन्त्रतामाथि ५९ वटा हननका घटना दर्ता भएको जनाएको छ। काउन्सिलमा प्राप्त निवेदन, निगरानी र नियमित अनुगमनका आधारमा ती घटनाहरू अभिलेख गरिएको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलका अनुसार २०८२ साउन १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा पत्रकारमाथि आक्रमण, धम्की, गिरफ्तारी, समाचार रोकथामजस्ता विविध घटना दर्ता भएका हुन्। तीमध्ये आक्रमण/हिँसाका १०, धम्कीका २०, अवरोध/अड्काउका ८, गिरफ्तारीका ५, मुद्दाका ६, स्रोतसामग्री जफतका १, र सामाजिक सञ्जालमार्फत भएका तीन घटना रहेका छन्।
प्रदेशगत विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २५ घटना, त्यसपछि कोशीमा १०, मधेशमा ७, गण्डकीमा ३, लुम्बिनीमा ६, कर्णालीमा २ र सुदूरपश्चिममा ६ वटा घटना दर्ता भएका छन्। ती घटनामा ४६ जना पत्रकार पीडित भएका छन्, जसमा दुई जना महिला पत्रकार पनि समावेश छन्।
प्रेस काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पत्रकारमाथि हुने धम्की, आक्रमण, नाइन्साफी र समाचार प्रकाशनमा हुने अवरोध प्रेस स्वतन्त्रतामाथि गम्भीर चुनौती हुन्।”
काउन्सिलले आगामी दिनमा पनि प्रेस स्वतन्त्रता हननका घटनाहरूको निगरानी, अनुसन्धान र अभिलेखन कार्य निरन्तर चलाइने जनाएको छ।



Leave a Reply