काठमाडौं, १२ चैत — इरानले अमेरिकाले प्रस्तुत गरेको १५ बुँदे प्रस्ताव अस्वीकार गर्दै हाल कुनै पनि वार्तामा बस्ने मनसाय नरहेको स्पष्ट पारेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा अमेरिका विभिन्न मध्यस्थकर्तामार्फत सन्देश पठाइरहेको बताए। तर त्यसलाई वार्ता वा सौदाबाजीको रूपमा नलिइएको उनको भनाइ छ।
उनले इरानको वर्तमान नीति आफ्नो सुरक्षा सुनिश्चित गर्नेमा केन्द्रित रहेको उल्लेख गर्दै अहिले वार्ता गर्ने अवस्था नभएको बताएका छन्।
अराघचीले जारी द्वन्द्वलाई इजरायलसँगको युद्धको रूपमा व्याख्या गर्दै यसबाट अमेरिका र क्षेत्रीय जनताले समेत ठूलो मूल्य चुकाइरहेको दाबी गरे।
यसअघि इरानले अमेरिकाको प्रस्तावको जवाफमा पाँच सर्त अघि सारेको थियो। ती सर्त पूरा भए मात्र युद्ध अन्त्य सम्भव हुने इरानको धारणा छ।
इरानले राखेका प्रमुख सर्तहरू यस्ता छन्:
शत्रुपक्षबाट भइरहेका आक्रमण र लक्षित हत्या पूर्ण रूपमा रोकिनु पर्ने
भविष्यमा इरानमाथि पुनः आक्रमण नहुने सुनिश्चितता हुनुपर्ने
युद्धबाट भएको क्षतिका लागि क्षतिपूर्ति दिने ग्यारेन्टी हुनुपर्ने
सम्पूर्ण मोर्चा र क्षेत्रभर संलग्न सबै पक्षबीच युद्ध अन्त्य हुनुपर्ने
होर्मुज जलडमरूमध्यमा इरानको अधिकार स्वीकार गर्नुपर्ने

