काठमाडौं, फागुन १८ — ट्वान्टी–२० विश्वकप क्रिकेटमा घरेलु टोली भारत सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार कोलकाताको इडेन गार्डेनमा भएको सुपर एट समूह–१ को निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।
भारतको जितमा सञ्जु सामसन नायक बने। उनले अविजित ९७ रनको आकर्षक इनिङ्स खेल्दै १९६ रनको लक्ष्य ४ बल बाँकी रहँदा पूरा गराए। ५० बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे। अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा उनले रोमारियो शेफर्डलाई लगातार छक्का र चौका प्रहार गर्दै खेल समाप्त गरेका थिए।
भारतको सुरुआत भने कमजोर रह्यो। अभिषेक शर्मा र इशान किशन समान १०–१० रनमा आउट हुँदा टोली दबाबमा परेको थियो। त्यसपछि सामसनले कप्तान सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। तिलक वर्माले १५ बलमा २७ रन थप्दा भारत १५ ओभरमा १४१/४ को अवस्थामा पुगेको थियो। हार्दिक पाण्ड्याले १७ रन जोडे।
यसअघि टस जितेर फिल्डिङ रोजेको भारतविरुद्ध वेस्ट इन्डिजले २० ओभरमा प्रतिस्पर्धात्मक १९५ रन बनाएको थियो। जेसन होल्डर र रोभमन पोवेलले पाँचौं विकेटका लागि अविजित ७६ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्कोरमा पुर्याए। होल्डरले ३७ र पोवेलले ३४ रन बनाए। ओपनर रोस्टन चेजले ४० तथा शाइ होपले ३२ रनको योगदान दिएका थिए।
जितसँगै भारत समूह–१ बाट सेमिफाइनल पुग्ने चौथो टोली बनेको छ। अब उसले बिहीबार मुम्बईमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच भिडन्त हुनेछ। फाइनल आइतबार अहमदाबादमा तय गरिएको छ।
यसैदिन भएको अर्को खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ५ विकेटले हराउँदै अपराजित यात्रा कायम राख्यो। कप्तान सिकन्दर रजाको उत्कृष्ट प्रदर्शनका बाबजुद जिम्बाब्वे पराजित भयो। दक्षिण अफ्रिकाले अब सेमिफाइनलमा न्युजिल्यान्डसँग खेल्नेछ।






