सशस्त्र प्रहरी देश–जनताको सुरक्षामा अहोरात्र खटिएको छ: डीआईजी ढकाल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया (बारा)-सशस्त्र प्रहरी बल दुई नम्बर बाहिनी छिनमस्ताका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले सशस्त्र प्रहरी देश र जनताको सुरक्षाका लागि निरन्तर सक्रिय रहेको बताएका छन्।
बाराको कलैया उपमहानगरपालिका–१६ उत्तरझिटकैयास्थित सशस्त्र प्रहरी बल १२ नम्बर गणको १९औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै डीआईजी ढकालले यस्तो बताएका हुन्।
उनले मातहतका इकाइलाई इमान्दारिता, अनुशासन र व्यावसायिक दक्षतासहित सेवा दिन निर्देशन दिँदै सशस्त्र प्रहरीले उच्च अनुशासन र उत्कृष्ट कार्यकौशल कायम गरेको उल्लेख गरे। देश विभिन्न सुरक्षा चुनौतीबाट गुज्रिरहेका बेला पनि सशस्त्र प्रहरीले प्रभावकारी रूपमा सुरक्षा व्यवस्थापन गर्दै आएको उनको भनाइ थियो।
डीआईजी ढकालले सशस्त्र प्रहरी बल नेपालले हालै ऐतिहासिक रजत महोत्सव सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै आगामी दिनमा थप नतिजामुखी कार्यसम्पादनमा जोड दिनुपर्ने बताए। साथै, सीमित स्रोत–साधनका बाबजुद प्रभावकारी रूपमा काम भइरहेको भन्दै स्थानीय तहसँगको समन्वय र सहयोग अझ आवश्यक रहेको उनले बताए।
कार्यक्रममा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालले जिल्लाको समग्र सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सीमा सुरक्षा, अपराध नियन्त्रण तथा निगरानी कार्यलाई थप सुदृढ बनाउँदै लगिएको जानकारी दिए।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका उपनिर्देशक सरोज निरौला, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजय राज पण्डितलगायतको उपस्थिति रहेको थियो।
समारोहका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो।

Leave a Comment