विराटनगरमा बस्नेत सवार गाडीमा मसी प्रहार, दुहबीमा टायर बालेर विरोध

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

७ मंसिर, विराटनगर । कोशी प्रदेशमा एमाले नेता महेश बस्नेतको आगमनसँगै विराटनगर र दुहबी दुबै ठाउँमा विरोधका घटना भएका छन्। विराटनगर विमानस्थल क्षेत्रमा बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार भएको केही घण्टामै सुनसरीको दुहबीमा स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गरेका छन्।

विराटनगरमा विद्यार्थी नेता संलग्न मसी प्रहार

शनिबार बिहान एयरपोर्ट लाइनको सडकमा बस्नेत सहभागी हुन लागेको कार्यक्रममा अवरोध पुर्‍याउने उद्देश्यले दुई युवाले दगुर्दै आएर गाडीमा रातो मसी फ्याँकेका थिए। प्रहरीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका:

सञ्जोग गौतम (२५), विराटनगर–१ – नेपाल विद्यार्थी संघ मोरङ जिल्ला सदस्य, डा. शेखर कोइराला समूहमुखी, महेन्द्र मोरङ क्याम्पस नेविसंघ इकाइका पूर्व सभापति।

अर्पित कुँवर (१९), विराटनगर–२ – नेविसंघ निकट।

प्रहरीका अनुसार दुवै जना नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघसँग सम्बद्ध छन्। बस्नेतले भने मसी प्रहारलाई “कार्यक्रममा अवरोध र लोकतन्त्रमाथिको उपहास” बताएका छन्।

दुहबीमा टायर बालेर प्रदर्शन

बस्नेत र एमाले नेता भानुभक्त ढकालको गाडी दुहबी क्रस भइसकेपछि स्थानीय युवाहरूले मुख्य सडकमा टायर बालेर विरोध जनाएका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले घटनास्थलमा देखिएको आगोलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको बताए।
विराटनगर विमानस्थल हुँदै बस्नेत सुनसरीको इटहरीतर्फ जाँदै गरेका थिए। विमानस्थल अगाडि भएको मसी प्रहारपछि केही समयमै दुहबीतिर पनि असन्तुष्टि प्रदर्शन भएको देखिन्छ।

Leave a comment