काठमाडौँ, १८ फागुन — रामेछापमा निर्वाचन सामग्री ढुवानीमा प्रयोग गरिएको सवारी दुर्घटनामा परेको छ।
जिल्ला सदरमुकाम मन्थलीबाट विभिन्न मतदान केन्द्रतर्फ पठाइएको मतपेटिका तथा कर्मचारी बोकेको गाडी देउराली–सिरुबारी सडकखण्डको भीरबाट खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी गरी कम्तीमा ७ जना घाइते भएका छन्। उनीहरूलाई स्थानीय सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाइएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाले दुर्घटनाको पुष्टि गरेका छन्। उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ गइरहेको र थप विवरण संकलन भइरहेको छ।
सवारीमा मतपेटिका र निर्वाचनसम्बन्धी कागजातसमेत रहेको जनाइएको छ। दुर्घटनापछि सामग्रीको अवस्था भने अझै स्पष्ट भइसकेको छैन।
पहाडी भौगोलिक अवस्था, साँघुरा सडक र दुर्गम मतदान केन्द्रसम्म सामग्री पुर्याउने दबाबका कारण निर्वाचन अवधिमा यस्ता जोखिमपूर्ण यात्रा हुने गर्छन्। रामेछापमा विगतका निर्वाचनमा पनि ढुवानी क्रममा सवारी दुर्घटना भएका उदाहरण रहेका छन्।






