काठमाडौं । यस वर्षको मनसुन अब नेपालभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्म पुगेपछि सबै प्रदेशमा यसको प्रभाव देखिएको हो।
महाशाखाले गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन विस्तार भएको जनाएको छ। यससँगै देशभर मनसुनी प्रणाली पूर्ण रूपमा सक्रिय भएको हो।
सामान्य अवस्थामा नेपालमा जुन १३ आसपास पूर्वी भागबाट प्रवेश गर्ने मनसुन यस वर्ष भने असार ५ गते अर्थात् जुन १९ मा मात्रै भित्रिएको थियो। सरदर समयभन्दा ६ दिन ढिलो प्रवेश गरेको मनसुन देशभर फैलिन १२ दिन लागेको छ।
अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा धेरैजसो भू–भागमा बादल लागेको छ भने कोशी, मधेस, बागमती र गण्डकीमा पनि सामान्य बदली देखिएको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसमविद्का अनुसार बुधबार देशभर बदली रहनेछ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई मौसमसम्बन्धी सूचना हेरेर आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
मनसुन देशभर सक्रिय, यी प्रदेशमा भारी वर्षाको जोखिम
Leave a Comment
Leave a Comment






