आजदेखि एसईई सुरु, छात्रभन्दा छात्रा बढी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, चैत १९ — आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको हो।

यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। परीक्षामा छात्राको सङ्ख्या बढी रहेको छ, जहाँ २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी भएका छन्। जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिइरहेका छन्।

देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी भएका छन्। परीक्षालाई व्यवस्थित बनाउन नयाँ निर्देशिका लागू गरिएको छ, जसअनुसार उत्तरपुस्तिका परीक्षण छिटो गरी नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको छ।

यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सक्ने व्यवस्था गरिएको छ। परीक्षण कार्य सुरक्षित कक्षमा सिसिटिभी निगरानीमा गरिनेछ र उत्तरपुस्तिका बाहिर लैजान नपाइने प्रावधान राखिएको छ। परीक्षकले मोबाइललगायतका उपकरण प्रयोग गर्न नपाउने व्यवस्था पनि गरिएको छ।

अनियमितता रोक्न कडा नियम लागू गरिएको छ। लापरवाही भेटिएमा पुनः परीक्षण, पारिश्रमिक कटौती वा सूचीबाट हटाउनेसम्मको कारबाही गरिनेछ।

यसैबीच, यस वर्ष एसईई परीक्षामा सामूहिक अनुगमनमा रोक लगाइएको छ। परीक्षा केन्द्रमा अनावश्यक भीडभाडले विद्यार्थीको लेखन कार्य प्रभावित भएको गुनासोपछि यस्तो निर्णय गरिएको हो। प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। त्यसपछि चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय तथा २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन हुनेछ।

 

Leave a Comment