मधेश प्रदेशसभा आज बस्दै, सभामुख मण्डलविरुद्धको प्रस्तावमाथि छलफल हुने

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंसिर ३, जनकपुरधाम — मधेश प्रदेशसभा आज दिउँसो १ बजे बस्दैछ। सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको आरोपसहित दर्ता भएको प्रस्तावमाथि छलफल गर्न उपसभामुख बबिता राउत ईश्वरको निर्देशनमा बैठक बोलाइएको हो।

प्रदेशसभा सचिवालयका अनुसार बैठकको जानकारी सामाजिक सञ्जालका समूहमार्फत सबै सांसदलाई पठाइएको छ।

यसअघिको कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नदेखाएको आरोप लगाउँदै प्रस्ताव दर्ता गरेका थिए। कानुनी रूपमा यस्तो प्रस्ताव दर्ता भएपछि एक साताभित्र सदनमा छलफल अनिवार्य हुने व्यवस्था रहेको छ।

गठबन्धनका ३२ जना प्रदेश सांसदले मंगलबार उपसभामुखलाई बैठक बोलाउन औपचारिक आग्रह गरेपछि आजको बैठक निश्चित गरिएको सचिवालयले जनाएको छ।

Leave a comment