मंगलबार, फागुन १९, २०८२
काठमाडौं : प्रेस काउन्सिलले प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
काउन्सिलले आज जारी गरेको सूचनामा मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारका विज्ञापन, टक शो, टिप्पणी, विश्लेषण, अन्तर्वार्ता, प्रश्नोत्तर तथा निर्वाचनलाई प्रभाव पार्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न/नगराउन स्मरण गराइएको छ। यस्तो व्यवस्था द्वारा जारी निर्वाचन आचारसंहिता, २०८२ मा स्पष्ट उल्लेख रहेको काउन्सिलले जनाएको छ।
मौन अवधिमा आचारसंहिता उल्लंघन भएमा पत्रकार आचारसंहिता, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने चेतावनी काउन्सिलले दिएको छ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराका अनुसार आचारसंहिता उल्लंघनका घटनालाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण तथा लोककल्याणकारी विज्ञापनसहित अन्य सरकारी विज्ञापनको भुक्तानीसम्बन्धी निर्णयका लागि आधारका रूपमा अभिलेखीकरण गरिनेछ।
मौन अवधिमा सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताले थप संवेदनशील, सजग र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा काउन्सिलले जोड दिएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन सबै पक्षले आचारसंहिता अक्षरशः पालना गर्नुपर्ने काउन्सिलको आग्रह छ।

