निर्वाचनको मुखैमा पर्सा र सिरहाका दुई उम्मेदवार पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२० फागुन २०८२, बुधबार,वीरगञ्ज/सिरहा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा र सिरहामा दुई उम्मेदवार पक्राउ परेका छन्।

पर्सा क्षेत्र नं. २ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बडनिहार क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी रोकेर उनलाई सहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले गाडीबाट केही शंकास्पद वस्तु फेला परेको जानकारी दिए। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ।

यस्तै, सिरहा क्षेत्र नं. ३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन्। मौन अवधिका बेला नगदसहित फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ।

नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Leave a Comment