काठमाडौं, ११ पुस २०८२
सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। महाराजगञ्जस्थित देउवाको निजी निवासमा बिहान १० बजेदेखि उनीहरूबीच छलफल जारी रहेको मन्त्री खरेलको सचिवालयले जनाएको छ।
देउवासँगको भेटपछि सञ्चारमन्त्री खरेलले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
सचिवालयका अनुसार खरेल बिहान ११ बजे एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डुस्थित निजी निवास पुग्नेछन् भने त्यसपछि दिउँसो प्रचण्डसँग खुमलटारमा भेट गर्ने कार्यसूची तय भएको छ।
सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी, राजनीतिक सहकार्य र समसामयिक राष्ट्रिय विषयमा संवादलाई तीव्रता दिइरहेका बेला सञ्चारमन्त्रीको शीर्ष नेतासँगको यो भेटवार्ता क्रमलाई महत्वपूर्ण रूपमा हेरिएको छ।


