२० फागुन २०८२, बुधबार
काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेको चौथो दिन अमेरिकी राष्ट्रपति ले इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र शीर्ष नेतृत्व ‘झन्डै समाप्त भइसकेको’ दाबी गरेका छन्।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले इरानको क्षेप्यास्त्र क्षमता तीव्र रूपमा कमजोर बनाइएको र नयाँ नेतृत्वमाथि समेत प्रहार गरिएको बताएका छन्। उनले ४९ जना इरानी नेताहरू मारिएको पुनः दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।
इजरायली सेनाले तेहरानस्थित राष्ट्रपति कार्यालय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् भवन र रिभोलुसनरी गार्ड्ससँग सम्बन्धित संरचनामा हवाई आक्रमण गरिएको जनाएको छ। साथै, कुद्स फोर्सअन्तर्गत लेबनान कोर्प्सका कार्यवाहक कमान्डर दाउद अलीजादेह मारिएको दाबी गरिएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इरानका कमान्ड–एण्ड–कन्ट्रोल संरचना, क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपण स्थल र सैनिक हवाई अड्डाहरू ध्वस्त पारिएको जनाएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले नतान्जस्थित भूमिगत परमाणु केन्द्रको बाहिरी संरचनामा क्षति पुगेको पुष्टि गरेको छ, तर मुख्य संरचना सुरक्षित रहेको उल्लेख गरेको छ।
इरानले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दोहोर्याउँदै आएको छ। इरानी अधिकारीहरूले व्यापक क्षतिको दाबीबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्, तर देशभर विस्फोटका खबरहरू आएका छन्। इरानी रेड क्रिसेन्टका अनुसार हालसम्म करिब ८ सय जनाको मृत्यु भएको बताइएको छ। मानवअधिकारसम्बन्धी संस्था एचआरएनएले ७४२ सर्वसाधारण, जसमा १७६ बालबालिका समावेश छन्, मारिएको दाबी गरेको छ।
जवाफस्वरूप इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी सयौं क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको जनाएको छ। कतारस्थित अल उदैद अमेरिकी सैन्य अड्डा, दुबईस्थित अमेरिकी कन्सुलेट नजिक र साउदी अरेबियाको राजधानी रियादस्थित दूतावास क्षेत्रमा आक्रमण प्रयास भएको विवरण सार्वजनिक भएका छन्।
इजरायलले अधिकांश क्षेप्यास्त्र अवरोध गरिएको दाबी गरे पनि केही आक्रमणमा १० जनाको मृत्यु भएको जनाएको छ। कुवेतमा ६ अमेरिकी सैनिक मारिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच, इरानले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने हर्मुज जलडमरूमध्य बन्द गर्ने चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय समुदायले द्वन्द्व थप चर्किन सक्ने चिन्ता व्यक्त गरेको छ।
अमेरिका र इजरायलले इरानको बैलिस्टिक क्षेप्यास्त्र क्षमता, परमाणु कार्यक्रम तथा क्षेत्रीय सहयोगी समूहलाई दिइने समर्थन कमजोर पार्ने लक्ष्य रहेको बताएका छन्। परिस्थितिको विकसित स्वरूपसँगै मध्यपूर्व क्षेत्र थप अस्थिर बन्ने संकेत देखिएको छ।

