१४ भाद्र,वीरगन्ज : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ। वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजना र नेतृत्वमा भइरहेको ‘वृहत् महिला सम्मेलन–२०८२’ को उद्घाटन गर्न भण्डारी वीरगञ्ज आउनुभएकाे हो।
सिमरा विमानस्थलमा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेश सचिव मनोज पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु, जितपुर–सिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी, अध्यक्ष त्रिलोक शाह र वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा लगायतका नेताले उहाँलाई माला लगाएर स्वागत गरेका थिए।
सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारी प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ। सङ्घका अध्यक्ष हरिप्रसाद गौतमका अनुसार, बारा–पर्सामा रहेका महिला प्रतिभाको पहिचान, सम्मान र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो।
‘नारी: शक्ति, समर्पण र सम्मान’ विषयमा कार्यशाला गोष्ठीसमेत हुने कार्यक्रममा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा सक्रिय महिलाको योगदानलाई उजागर गरिने महिला उद्यमशीलता विकास समितिकी संयोजक डा. लक्ष्मी थापाले बताउनुभयो।
सह–संयोजक अनुप अग्रवालका अनुसार सम्मेलन सात चरणमा सम्पन्न हुनेछ, जसअन्तर्गत प्यानल छलफल, प्रेरणादायी कार्यशाला तथा ३० देखि ४० जना उत्कृष्ट महिलालाई सम्मान गर्ने तयारी गरिएको छ।


