चैत १, २०८२,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको जनाएको छ।
निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ।
दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ तथा डिजेल र मट्टितेल १५१ रुपैयाँ कायम गरिएको छ।
यस्तै पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टितेल १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।
निगमका अनुसार अमेरिका–इजरायल–इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको परिस्थितिका कारण मूल्य समायोजन गर्नुपरेको हो। निगमले मूल्यवृद्धिबाट उपभोक्तामा पर्ने प्रभावप्रति आफू सचेत रहेको पनि जनाएको छ।


