उपत्यकाबाहिर बागमतीमा पनि रास्वपाको दबदबा: १८ मध्ये १६ सिट जित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

हेटौंडा, २५ फागुन। प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशमा पनि प्रभावशाली प्रदर्शन गरेको छ। काठमाडौं उपत्यकाका सबै सिट जितेको रास्वपाले उपत्यकाबाहिरका जिल्लामा समेत बलियो उपस्थिति देखाउँदै १८ मध्ये १६ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।

बागमती प्रदेशमा सबैभन्दा अन्तिममा मतगणना सकिएको नुवाकोट–१ मा पनि रास्वपाका विक्रम तिमिल्सिना विजयी भएका छन्। उनले २२ हजार ६०९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. प्रकाशशरण महत ले १८ हजार ५९७ मत प्राप्त गरेका छन्।

उपत्यकाबाहिरका १८ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ले कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने एक–एक क्षेत्रमा मात्र विजयी भएका छन्।

रसुवामा भने कांग्रेसले आफ्नो पुरानो प्रभाव जोगाएको छ। त्यहाँ कांग्रेसका मोहन आचार्य १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका छन्।

सिन्धुपाल्चोक–२ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवराज दुलाल २१ हजार ६९९ मत सहित निर्वाचित भएका छन्। उनले कांग्रेसका वंशलाल तामाङ लाई पराजित गरेका हुन्।

यी दुई क्षेत्रबाहेक अन्य सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्।

दोलखामा रास्वपाका जगदीश खरेल ३२ हजार ३७६ मत सहित विजयी भएका छन् भने रामेछापमा कृष्णहरी बुढाथोकी २४ हजार ८०८ मत सहित निर्वाचित भएका छन्।

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ। सिन्धुली–१ मा धनेन्द्र कार्की १६ हजार ६५९ मत सहित विजयी भएका छन् भने सिन्धुली–२ मा आशिष गजुरेल १७ हजार ९४० मत सहित निर्वाचित भएका छन्।

धादिङका दुवै क्षेत्रमा पनि रास्वपाले जित हासिल गरेको छ। धादिङ–१ मा आशिका तामाङ ३९ हजार १२८ मत सहित विजयी भइन् भने धादिङ–२ मा बोधनारायण श्रेष्ठ २६ हजार २४५ मत सहित निर्वाचित भएका छन्।

नुवाकोट–२ मा अच्युतम लामिछाने ३२ हजार ५४ मत सहित विजयी भएका छन्।

काभ्रेका दुवै क्षेत्रमा पनि रास्वपाले जित हात पारेको छ। काभ्रे–१ मा मधुकुमार चौलागाई २९ हजार ६१८ मत सहित विजयी भएका छन् भने काभ्रे–२ मा बदनकुमार भण्डारी ५३ हजार ३५४ मत सहित निर्वाचित भएका छन्।

सिन्धुपाल्चोक–१ मा भरतप्रसाद पराजुली २४ हजार ४१२ मत सहित विजयी भएका छन्।

चितवनका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ। चितवन–१ मा सोबिता गौतम ५९ हजार २७७ मत सहित विजयी भइन्। चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने ५४ हजार ४०२ मत सहित निर्वाचित भए। चितवन–३ मा हरि ढकाल ५८ हजार २०८ मत सहित विजयी भएका छन्।

मकवानपुरका दुवै क्षेत्रमा पनि रास्वपाले जित हासिल गरेको छ। मकवानपुर–१ मा प्रकाश गौतम ३३ हजार ३६ मत सहित विजयी भएका छन् भने मकवानपुर–२ मा प्रशान्त उप्रेती ३० हजार ५० मत सहित निर्वाचित भएका छन्।

यस परिणामले बागमती प्रदेशमा रास्वपाको प्रभाव निकै बढेको विश्लेषण गरिएको छ। परम्परागत दलहरू कमजोर हुँदै जाँदा रास्वपाले अधिकांश क्षेत्रमा स्पष्ट जनसमर्थन प्राप्त गरेको देखिएको छ।

Leave a Comment