बागमतीमा रास्वपाको ऐतिहासिक दबदबा : ३३ मध्ये ३१ सिट जित, एमाले शून्य

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 4 मिनेट

हेटौंडा, २६ फागुन २०८२।
बागमती प्रदेशका प्रतिनिधिसभा निर्वाचनमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरेको छ। प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये रास्वपाले एक्लैले ३१ सिट जित्दै नयाँ राजनीतिक इतिहास रचेको हो।

यो परिणामसँगै बागमतीमा रास्वपा अत्यन्त बलियो शक्ति बनेको छ। बाँकी दुई सिटमध्ये एक नेपाली कांग्रेस र अर्को नेकपाले जितेका छन्। अघिल्लो निर्वाचनमा देशकै प्रमुख दलमध्ये रहेको नेकपा एमाले भने यसपटक बागमतीमा एक सिट पनि जित्न नसक्दै शून्यमा सीमित भएको छ।

१३ जिल्लाका ३३ निर्वाचन क्षेत्र

बागमती प्रदेशमा काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेका छन्। काठमाडौंमा १०, ललितपुरमा ३, भक्तपुरमा २, चितवनमा ३, धादिङमा २, नुवाकोटमा २, काभ्रेमा २, मकवानपुरमा २, सिन्धुलीमा २, सिन्धुपाल्चोकमा २, दोलखामा १, रामेछापमा १ र रसुवामा १ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्।

यसपटक रसुवा–१ बाट नेपाली कांग्रेसका मोहन आचार्य विजयी भए। उनले १० हजार ६५६ मत प्राप्त गर्दा रास्वपाका बसन्त भट्ट ५ हजार ५७१ मतसहित दोस्रो स्थानमा रहे।

त्यस्तै सिन्धुपाल्चोक–२ बाट नेकपाका युवराज दुलाल २१ हजार ६९९ मतसहित निर्वाचित भए। यस क्षेत्रमा रास्वपाका झलककुमार श्रेष्ठ चौथो स्थानमा सीमित भए।

उपत्यकामा रास्वपाको पूर्ण कब्जा

काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हात पारेको छ।
काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भए।

काठमाडौं–१ बाट रञ्जु दर्शना (न्यौपाने), २ बाट सुनील केसी, ३ बाट राजुनाथ पाण्डे, ४ बाट पुकार बम, ५ बाट सस्मित पोखरेल, ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली, ८ बाट विराजभक्त श्रेष्ठ, ९ बाट डोलप्रसाद अर्याल र १० बाट प्रदीप विष्ट विजयी भएका छन्।

ललितपुर–१ बाट बुद्धरत्न महर्जन, २ बाट जगदीश खरेल र ३ बाट तोसिमा कार्की निर्वाचित भए भने भक्तपुर–१ बाट रुकेश रञ्जित र भक्तपुर–२ बाट राजीव खत्री विजयी भए।

अन्य जिल्लामा पनि रास्वपाको प्रभाव

दोलखा–१ बाट जगदीश खरेल, रामेछाप–१ बाट कृष्णहरि बुढाथोकी, सिन्धुली–१ बाट धनेन्द्र कार्की, सिन्धुली–२ बाट आशिष गजुरेल, धादिङ–१ बाट आसिका तामाङ र धादिङ–२ बाट बोध नारायण श्रेष्ठ निर्वाचित भएका छन्।

त्यस्तै नुवाकोट–१ बाट विक्रम तिमिल्सिना, नुवाकोट–२ बाट अचुत्तम लामिछाने, काभ्रे–१ बाट मधुकुमार चौलागाईं, काभ्रे–२ बाट बदनकुमार भण्डारी, सिन्धुपाल्चोक–१ बाट भरतप्रसाद पराजुली, मकवानपुर–१ बाट प्रकाश गौतम र मकवानपुर–२ बाट प्रशान्त उप्रेती विजयी भए।

चितवनका तीनै क्षेत्र पनि रास्वपाले जितेको छ। चितवन–१ बाट हरि ढकाल, चितवन–२ बाट रवि लामिछाने र चितवन–३ बाट सोविता गौतम निर्वाचित भएका हुन्।

युवा नेतृत्वको उदय

यसपटक बागमतीबाट निर्वाचित रास्वपाका अधिकांश सांसद ५० वर्षभन्दा कम उमेरका छन्। सबैभन्दा कान्छा सांसद मकवानपुर–२ का प्रशान्त उप्रेती हुन्, जसको उमेर २५ वर्ष ९ महिना रहेको छ।

प्रदेशबाट निर्वाचित ३३ सांसदमध्ये चार जना मात्रै महिला रहेका छन्। चितवनबाट सोविता गौतम, काठमाडौंबाट रञ्जु दर्शना, ललितपुरबाट तोसिमा कार्की र धादिङबाट आसिका तामाङ महिला सांसद बनेका छन्।

अघिल्लो निर्वाचनको तुलनामा ठूलो परिवर्तन

२०७९ को निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसले सबैभन्दा धेरै १३ सिट जितेको थियो भने रास्वपाले ७ सिट मात्र पाएको थियो। त्यतिबेला एमालेले ४ सिट जितेको थियो।

तर २०८२ को निर्वाचनमा भने राजनीतिक समीकरण पूर्ण रूपमा बदलिएको देखिएको छ। अधिकांश पुराना दलका गढ मानिएका क्षेत्रमा रास्वपाले जित निकाल्दै बागमती प्रदेशको राजनीतिक नक्सा नै फेरिदिएको छ।

Leave a Comment