सुर्खेत, फागुन २८ — सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको प्रारम्भिक अनुसन्धान सम्पन्न गरेपछि थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको जनाएको छ। प्रहरी निरीक्षकको नेतृत्वमा रहेको सीआईबीको टोली शुक्रबारसम्म वीरेन्द्रनगर पुग्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मोनजंग बुढथापाले जानकारी दिए।
उनका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोग लिइएको हो। हालसम्म शव परीक्षणको प्रतिवेदन आइसकेको छ भने पीडित र अभियुक्तसँग सम्बन्धित मोबाइल फोन लगायत विद्युतीय सामग्री अनुसन्धानका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार विष परीक्षण र अन्य वैज्ञानिक परीक्षणको प्रतिवेदन आएपछि शव परीक्षणको नतिजासँग तुलना गरी घटनाको अन्तिम निष्कर्ष निकालिनेछ।
गुर्भाकोट–६ बडाखोली घर भएकी इनिसा विकको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबै जना १८ वर्षभन्दा कम उमेरका किशोर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

