भारत र न्युजिल्यान्ड भिड्दै: आईसीसी टी–२० विश्वकप २०२६ को फाइनल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २४, २०८२ – आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को उपाधिका लागि आइतबार साबिक विजेता भारत र न्युजिल्यान्ड आमने–सामने हुने भएका छन्। खेल अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ।

घरेलु मैदानमा खेलेर इतिहास रच्ने लक्ष्य राखेको भारतिय टोलीले उपाधि जित्दा तीन ऐतिहासिक कीर्तिमानहरू एकसाथ कायम गर्न सक्छ – पहिलो, आईसीसी टी–२० विश्वकप जित्ने घरेलु टोली; दोस्रो, उपाधि रक्षा गर्ने पहिलो टोली; र तेस्रो, तीन पटकको विश्वकप विजेता बन्ने पहिलो टोली।

भारतले यसअघि सन् २००७ र २०२४ को विश्वकपको उपाधि उचालेको थियो। इंग्ल्यान्ड (२०१०, २०२२) र वेस्ट इण्डिज (२०१२, २०१६) ले पनि दुई–दुई पटक उपाधि जितेका छन्, तर कुनै पनि टोलीले उपाधि रक्षा भने सकेको छैन।

फाइनलमा भारतको सामना गर्ने न्युजिल्यान्डले पनि पहिलो पटक उपाधि हात पार्ने लक्ष्य राखेको छ। उनीहरूले बुधबार भएको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए। न्युजिल्यान्डले २०२१ मा पहिलो पटक फाइनल पुगेको थियो, तर अष्ट्रेलियासँग पराजित भई उपविजेता बनेको थियो।

भारतले बिहिबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। यस पटक घरेलु मैदानको फाइदा लिएर भारतले कीर्तिमानी प्रदर्शन गर्ने योजना बनाएको छ, जबकि न्युजिल्यान्डले अघिल्ला गल्तीहरू सुधार्दै उपाधिका लागि कडा चुनौती दिने तयारी गरेको छ।

Leave a Comment